प्रचण्ड-नेपालसँगको भेटपछि एकाएक ओलीप्रति आक्रमक बने देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने आफूलाई विश्वास नलागेको बताएका छन्। प्रजातन्त्रलाई नै खतरा हुने गरी प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा भंग गरेको सभापति देउवाको भनाइ थियो।

आज पर्वत शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामा बोलेका देउवाले भने, ‘प्रजातन्त्रमै खतरा हुने गरी ओलीले प्रतिनिधि सभा भंग गरे। ओलीले कहाँ चुनाव गराउँछन्रु गराउँदैनन्। चुनाव नगर्ने प्रतिनिधि सभा पनि खोस्ने, यस्तो हुन सक्छ, हामीलाई डर छ।’



प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव घोषणा गरेका छन्। तर प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। ओलीको कदम कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको देउवाको भनाइ छ। तर सर्वोच्चमा विचाराधीन रहेको मुद्दाबारे सडकमा आन्दोलन गरेर यो गर वा ऊ गर् भन्ने दवाव कांग्रेसले नदिने उनले प्रष्टाएका छन्।

‘हामीलाई विश्वास छ अदालतले विवेक प्रयोग गर्नेछ। अदालतमा विचाराधीन मुद्दामा यो गर ऊ गर भन्न मिल्दैन। हाम्रो पार्टीले अदालतलाई धम्क्याउने र तर्साउने काम गर्दैन,’ उनले भने। स्वतन्त्र न्यायपालिकाको पक्षमा पार्टी रहेको उनको भनाइ थियो।

सरकार जनताको सेवक भए पनि जनअपेक्षाअनुसार ओली सरकारले काम नगरेको देउवाको आरोप छ। ‘सरकार जनताको सेवक हो मालिक होइन। जनताप्रति सरकार उत्तरदायी हुनुपर्ने हो तर भएन,’ उनले भने। न्यायपालिकालाई दवाव वा प्रभाव पर्ने गरी राष्ट्रपति, प्रधानमन्त्री या कुनै पनि दलका नेताले बोल्न नमिल्ने देउवाले बताए।

उनले आफूलाई भेट्न बुधबार साँझ नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आएको पनि बताएका थिए। ‘उहाँहरू आउनुभएको थियो। अदालतमा विचाराधीन मुद्दामा हामी पनि बोल्दैनौं, तपाईंहरू पनि नबोल्नुस् भनेको हो,’ उनले भने।

प्रचण्ड(नेपालले बुढानिलकण्ठ पुगेर ओलीका कदमविरूद्ध संयुक्त सडक संघर्षमा जान र प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिनुपर्नेलगायत प्रस्ताव लगे पनि देउवाले अस्वीकार गरेका थिए।

देउवाले दुई भागमा विभाजितजस्तो देखिए पनि अझै पनि कानुनी रूपमा सग्लो नै रहेकोले कुनै पनि खेमासँग आफूहरू नजिक नहुने संकेत गरेका छन्। तर पनि प्रचण्ड नेपालसँगको भेटपछि देउवा ओलीप्रति आक्रमक हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार