परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेट

भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरबीच भेटवार्ता भएको छ । भेट नयाँदिल्लीस्थित हैदरावाद हाउसमा जारी छ । भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल हुने बताइएको छ ।

दुई देशका विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गलालगायत सहभागी छन् ।



ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक शुरू हुनेछ । बैठकका लागि दुवै पक्षले करिब तीन दर्जनभन्दा बढी एजेण्डा तय गरेका छन् । एजेण्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँदिल्ली आएको थियो ।

बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयमा छलफलमा हुने बताइएको छ । त्यसैगरी बैठकमा दुई देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रहरुमा हालसम्म भएका सहमति र नसुल्झेका विषयमा समेत समीक्षा गरिने बताइएको छ ।

नेपाली पक्षले बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यद्यपि भारतीय पक्ष भने सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने पक्षमा छ ।

सम्बन्धित समाचार