नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ माघ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अर्थात् २० जनवरीमा बिहानै ह्वाइट हाउस छाड्ने तयारी गरिरहेका छन् । २० जनवरीमै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिनेछन् र ह्वाइट हाउस जाने एजेन्सीहरूले बताएका छन् ।
सत्ता हस्तान्तरणको योजनासँग सम्बन्धित एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा बुधबार बिहानै ट्रम्पले ह्वाइट हाउस छाड्ने तयारी गरिरहेको बताएका हुन् । ट्रम्पले आधिकारीक रुपमा ह्वाइट हाउस छाड्ने विषय अहिलेसम्म जानकारी दिएका छैनन् ।
उनले राष्ट्रपतिमा विजयी भएका जो बाइडेनलाई अहिलेसम्म बधाई पनि दिएका छैनन् र बाइडेनको सपथमा पनि उपस्थित नहुने जानकारी दिइसकेका छन् । यद्यपी, शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने घोषणा भने गरिसकेका छन् ।