
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड १९ को भ्याक्सिनबारे छलफल भएको जानाकारी दिए ।
आफ्नो भारत भ्रमणले दुई देशको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान गर्ने उनले बताए । कोभिडका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने, हुलाकी सडकको निर्माण भएका खण्डहरु हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी काम छिटो सक्ने सहमति भएको छ ।
बैठकमा रक्सौल-काठमाडौं रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकाले शिघ्र काम शुरु गर्ने सहमति गरेको छ । महाकालीमा निर्माणाधिन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको उनले जानकारी दिए ।
बैठकमा भुकम्पपछिको पुनर्निमाणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रुप दिने विषयमा पनि छलफल भएको बताइएको छ।
