‘मैले न्यायाधीशलाई भेटेकै छैन, मिडियाले झुट बोले’

प्रधानमन्त्री केपी ओलीले आफूले न्यायाधीशहरुलाई नभेटेको दाबी गरेका छन् । प्रदेश १ सम्पर्क कमिटीले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले न्यायाधीशहरुले भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न पनि चुनौति दिए । उनले भने, ‘मैले यसपटक मात्रै होइन, शायद कहिलेपनि भेटेको छैन ।’

उनले झुट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम गरेको उल्लेख गरे । उनले भेटघाटबारे समाचार छाप्ने सञ्चारमाध्यमलाई ‘झुट बोल्ने कर्तव्यको ठेक्का लिएको’ संज्ञा दिए । उनले भने, ‘न्यायप्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणालीमाथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ । उहाँहरु यस कुरालाई प्रमाणित गरेर देखाउन सक्छुहुन्छ ?’



उनले मिडियामार्फत लोकतान्त्रिक संस्थाहरुमाथि हमला गर्ने काम भएको बताए । उनले भने, ‘एउटा पत्रिका जो झुट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ । हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ । आज फेरि पनि के न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर आज पनि समाचार आएको छ । लाज पनि लाग्न पर्छ । लोकतान्त्रिक संस्थाहरुमाथिको हमला ।’

प्रतिनिधिसभा विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट विघटित प्रतिनिधिसभाकी सांसद शशी श्रेष्ठले प्रश्न उठाएकी थिइन् ।

सम्बन्धित समाचार