मोदीलाई भेट्न नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली निरास बनेर फर्किए

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीनदिने भारत भ्रमण सकेर नेपाल फर्केका छन् । तर निकै फुर्तिफार्तीका साथ भएको यो भ्रमण भने औपचारिकतामा मात्रै सिमित बनेको छ । शुक्रबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठक दुई देशका नियमित एजेन्डामा मात्रै केन्द्रित भयो, बैठकमा भारतीय पक्षबाट बहुचर्चित कालापानी–लिम्पियाधुरा सीमा विवादमा उपयुक्त संयन्त्रमा छलफल गर्दै जाने पुरानै प्रतिबद्धता मात्रै दोहोरियो ।

उच्च राजनीतिक तहमा हुने भनिएको परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता पनि रक्षामन्त्री राजनाथ सिंहसँगको शिष्टाचार वार्तामा सीमित भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने प्रयास शनिबार अपराह्नसम्म असफल भएपछि परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्केका छन् ।



उनले मोदीसँग भेटवार्ताका लागि कूटनीतिक, राजनीतिक र सैन्य च्यानलमार्फत प्रयास गरेका थिए, तर सफल भएनन् । दुई महिनाअघि नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन शृंगला, सेनाध्यक्ष मनोजमुकुन्द नरभणेदेखि ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले भने प्रधानमन्त्रीसँग भेटको सहज अवसर पाएका थिए ।

विहीबार बिहान भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतलाई भेटेर पनि प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेट गराउन प्रयास गरेका थिए, तर सम्भव भएन । परराष्ट्रमन्त्री ज्ञवालीले मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गर्न पाएनन् ।

सम्बन्धित समाचार