संसद् विघटनविरुद्ध अदालतमा बहस चलिरहँदा प्रधानमन्त्री ओलीले भेटे राष्ट्रपतिलाई

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट भएको हो। भेटमा सरकारका काम कारबाही र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जानकारी दिएको छ।

प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। प्रतिनिधि सभा विघटनको सिफारिसमा प्रधानमन्त्री ओली र मन्त्रिपरिषद् कार्यालयले छुट्टाछुटै चिठी शितल निवासमा पठाएको खुलेपछि अहिले नयाँ तरंग आएको छ।



यता आजको बहसमा रिट निवेदकका वकिलहरूले संसद विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन्। संविधान सभाले संविधान लेख्दा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिने वा नदिने भन्नेमा लामो बहस भएको थियो। उक्त बहस अदालतमा पेश भएमा संसद् पुनस्थापना हुने सम्भावना रहने जानकारहरु बताउछन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलाससमक्ष सो माग गरेका हुन्। त्रिपाठीको मागमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने – यो कुरा पहिला नै आएको छ, हाम्रो नोटमा छ। आवश्यक परे रेकर्ड मगाउँछौं।

सम्बन्धित समाचार