
एकता अभियान सुरु गरेका नेकपा उपाध्यक्ष वामदेव गौतम अन्ततः यता न उता हुने देखिएको छ । सोचेअनुसार एकता अभियानमा कुनै पनि नेता कार्यकर्ताले चासो नदिएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्षसँग गौतमले अध्यक्ष पद मागेका थिए । ओलीलाई सरकार सञ्चालनमा ध्यान दिन र आफूलाई अध्यक्ष बनाएमा आफू ओली समूहमा लाग्ने बताएका उनलाई ओलीले अध्यक्ष बनाउन नसकिने जवाफ फर्काएको स्रोतको दाबी छ ।
ओलीले अध्यक्ष बनाउन नसकिने जवाफ मात्र फर्काएनन्, गौतमले ओली समूहमै सक्रिय हुने बताउँदा पनि ओलीले चासो नदेखाएपछि गौतम रनभुल्लमा परेको बताइन्छ । गौतमको निकट मानिने नेताहरु ओली समूहमा सक्रिय छन् । त्यसर्थ ओली समूहमै आफ्नो भविष्य रहेको आँकलनका गौतमले ओलीसँग आफूलाई व्यवस्थापन हुने पद सिर्जना गर्न आग्रह गरेका थिए । तर ओलीले उपाध्यक्ष पदमै रहन आग्रह गरेका थिए । गौतमले भने सिंगो पार्टी हुँदा नै उपाध्यक्ष रहेको मान्छे पार्टी फुट्दा पनि सोही पदमा नरहने बताएका थिए ।
गौतमले प्रचण्डलाई कारवाही गरेर आफूलाई कार्यकारी अध्यक्ष बनाउन आग्रह गरे पनि ओलीले उनको मागको बेवास्ता गरेपछि गौतम फेरि पनि प्रचण्ड–नेपाल समूहमा फर्किने आँकलन गरिएको छ । तर प्रचण्ड–नेपाल समूहमा फर्किदा पनि उनले उपाध्यक्षमै चित्त बुझाउनुपर्ने देखिएको छ ।
प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव नोपालले हिजोमात्र एक कार्यक्रममा गौतमले एकता अभियानको नाममा भ्रम फैलाएको आरोप लगाएका थिए । आफूनिकट नेताहरुलाई ओली समूहमा पठाएर एकता अभियानको नाटक गरेको भन्दै गौतम पनि ओली समूहमा गैसकेको बताएका थिए । अप्ठ्यारोमा साथ नदिएको र तटस्थ बसेको भन्दै प्रचण्ड पनि गौतमसँग रुष्ट बनेका छन् ।
समग्रमा एकता अभियानले गौतमलाई राजनीतिक धक्का लाग्ने देखिएको छ । दुबै समूहमा उनलाई विश्वास गर्न सक्ने देखिएको छैन । उनले भनेजस्तो नेकपा पुनः एक हुने सम्भावना पनि देखिँदैन ।
