राजधानी काठमाडौंबाट अन्यत्र सार्न बाबुराम भट्टराईको प्रस्ताव

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संघीय राजधानी अन्यत्र सार्न प्रस्ताव गरेका छन् । अव्यवस्थित हुँदै जाँदा काठमाडौं बस्न लायक स्थान नहुने भन्दै भट्टराईले यस्तो माग गरेका हुन् ।

डा. भट्टराईले काठमाडौंलाई कंक्रिट जंगल बनाउने क्रम तीव्ररुपमा अघि बढिरहेको भन्दै यही क्रमले निरन्तरता पाए काठमाडौं बस्न अयोग्य शहर हुने चिन्ता व्यक्त गरेका छन् ।



कमलपोखरी पुनर्निर्माणको क्रममा सरकारले विकास र संरक्षणबीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसकेको उनको बुझाई छ । कमलपोखरीको मौलिकता जोगाउन जनताको तहबाट व्यापक माग र पहल अगाडि बढिरहेको बेला सरकारले रातारात बुलडोजर लगाएपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘विकास र संरक्षणबीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाण्डौं उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो,’ उनले भनेका छन्, ‘तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं । संघीय राजधानी काठमाण्डौ बाहिर सारौं ।’

उनले सरकारसँग राष्ट्रिय भूउपयोग नीति लागू गर्न र संघीय राजधानी काठमाडौं बाहिर सार्न माग गरेका हुन् । उनले कमलपोखरी संरक्षण अभियानप्रति ऐक्यवद्धता पनि प्रकट गरेका छन् ।

सम्बन्धित समाचार