नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ माघ ।
भारतको केरलस्थित मलप्पुरममा १७ वर्षीया किशोरीलाई ४४ जनाले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार घटनामा संलग्नमध्ये अहिलेसम्म २० जनालाई पक्राउ गरिएको छ।
पीडित किशोरीका अनुसार पहिलोपटक १३ वर्षको छँदा सन् २०१६ मा उनलाई यौन उत्पीडन भएको थियो। दोस्रो घटनापछि उनलाई बालगृह लगिएको थियो। त्यसपछि करिब १ वर्षअघि उनले आफ्ना आमा र दाइका साथमा बस्ने अनुमति पाएकी थिइन्, तर बालगृहबाट निस्कनासाथ उनलाई फेरि धेरै जनाले घृणित कार्य गरेका हुन्।
मलप्पुरम बाल कल्याण समितिका अध्यक्ष साजेश भास्करका अनुसार यी किशोरी पहिले बालगृहमा बस्थिन्। तर एक वर्षअघि परिवारको आग्रहबमोजिम घर पठाइयो। बालिकालाई घर पठाउनु पहिले सबै कानुनी एवं सुरक्षा प्रक्रिया पूरा गरिएको थियो।
बालगृहबाट निस्किएपछि भइन् बेपत्ता
यस मामिलाका इन्जार्च सर्किल पुलिस इन्स्पेक्टर मोहम्मद हनिफाले सञ्चारमाध्यमसँग बताएअनुसार बालिकाले निर्भया केन्द्रमा काउन्सिलिङका क्रममा घटनाको खुलासा गरेकी हुन्। उनका अनुसार बालिका बालगृहबाट निस्केपछि केही समय बेपत्ता भइन् र डिसेम्बर अन्त्यतिर उनी पलक्कडमा फेला परेकी थिइन्।
पलक्कडमा फेला परेपछि उनलाई परिवारका सदस्यले निर्भया केन्द्रमा लिएर आए। यहाँ काउन्सिलिङका क्रममा उनले केन्द्रका अधिकारीलाई आफूविरुद्ध भएका यौन उत्पीडन र दुर्व्यवहारबारे सबै जानकारी दिएकी हुन्। इन्स्पेक्टर मोहम्मद हनिफाले किशोरीको बयानका आधारमा घटनामा संलग्न लगभग सबै व्यक्तिविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गराइएको जानकारी दिएका छन्।