बाइडेनले शपथ लिएकै दिन डब्लुएचओमा फर्कियो अमेरिका, अमेरिका पस्न लगाइएको प्रतिबन्ध फुकुवा

अमेरिकी राष्ट्रपति जो बाइडेनले शपथग्रहणपछि आफ्नो पद बहाली गर्दै कैयौं महत्वपूर्ण निर्णय गरेका छन् । ह्वाइटहाउसको ओवल अफिसमा मास्क लगाएर पुगेका बाइडेनले आफ्नो प्राथमिकता कोभिड संकट, आर्थिक संकट र जलवायु संकट रहेको बताएका छन् ।

बाइडेनले आफ्नो पहिलो कार्यकारी निर्देशनमा हस्ताक्षर गर्दै मास्क लगाउन अनिवार्य गरेका छन् । आदेशपछि अब अमेरिकाका संघीय सरकारका कार्यालयहरुमा मास्क अनिवार्य भएको छ । साथै बाइडेनले अमेरिका जलवायु परिवर्तन सम्बन्धि पेरिस सम्झौतामा फर्काएका छन् । यस अघि ट्रम्पले अमेरिकालाई पेरिस सम्झौताबाट अलग गरेका थिए ।



त्यस्तै ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई अलग गरेकोमा बाइडेनले विश्व स्वास्थ्य संगठनमा अमेरिका फेरी जोडिने प्रक्रियालाई शुरु गरेका छन् । यसको नेतृत्व वरिष्ठ भाइरल रोग विशेषज्ञ एन्थोनी फाउचीले गर्ने बताइएको छ । त्यस्तै बाइडेनले सात मुस्लिम देशका पासपोर्ट होल्डरलाई अमेरिका पस्न लगाएको प्रतिबन्धलाई फुकुवा गरेका छन् ।

यी लगायत बाइडेनले पहिलो दिन १७ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपतिलाई हुने विशेष अधिकारको प्रयोग गर्दै बाइडेनले यी आदेश जारी गरेका छन् । अमेरिकी संविधान अनुसार यी आदेशलाई अमेरिकी संसदको अनुमति लिनु पर्दैन ।

सम्बन्धित समाचार