लमजुङमा ८ मतदानस्थल थपिँदै

सरकारले आगामी वैशाखमा तोकेको मध्यावधि निर्वाचनमा मतदान गर्न लमजुङमा थप ८ वटा मतदान केन्द्र थप गर्ने निर्णय भएको छ। निर्वाचन मिति घोषणासँगै लमजुङमा निर्वाचनको तयारी पनि शुरू भइसकेको छ। आगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका मतदानस्थल र केन्द्र सिफारिस गरिएको हो।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाबाट १ सय २३ मतदान स्थलमा १ सय ७३ मतदान केन्द्र सिफारिस गरेको हो। मतदाता संख्याको आधारमा केन्द्र कायम हुनेगरी सिफारिस गरीएको प्रजिअ शर्माले जानकारी दिए।



१ हजार ५० भन्दा बढी मतदाता भएका मतदान स्थलमा केन्द्र थपेर १ सय ७३ मतदान केन्द्र सिफारिश गरीएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ। पछिल्लो निर्वाचनमा जिल्लामा १ सय २३ मतदान स्थलमा १ सय ६५ मतदान केन्द्र कायम भएको थियो मतदाता संख्याको आधारमा यसपटक ८ वटा मतदान केन्द्र थप हुने भएको हो।

बेंसीशहरको जनविकास मावि र अर्थली बोर्डिङ स्कूललाई नयाँ मतदान केन्द्र तोक्ने निर्णय भएको छ। यस्तै मध्यनेपालको सम्झना मावि समीभन्ज्याङ र डढुवा दुर्छा माविमा पनि मतदान केन्द्र सिफारिस भएको छ। क्होलासोँथार–२, घनपोखराको त्रिभुवन मावि, सुन्दरवजार–२ को शान्ति मन्दिर परेवाडाँडा, सुन्दरवजार–९ को भविष्य निर्माण मावि पहिरे र राइनासको शैलपुत्री मावि धमिलीकुवामा एकरएकवटा मतदान केन्द्र थप सिफारिस भएको छ।

कार्यालयका अनुसार जिल्लाका १ सय २३ वटा मतदानस्थलमध्ये ४ वटा मतदान स्थलमा ३ वटा केन्द्र कायम हुने भएका छन्। बेसीशहर–२ भकुण्डेको बालकल्याण मावि र बेसीशहर–८ को अर्थली प्याराडाइज बोर्डिङ स्कूल, राइनासको शैलपुत्री मावि धमिलीकुवा र सुन्दर बजारको आदर्श बाल माविमा ३र३ वटा मतदान केन्द्र सिफारिस गरिएको छ।

यसैगरी जिल्लामा ४२ वटा मतदान स्थलहरूमा २र२ वटा मतदान केन्द्र सिफारिस गरिएको छ भने ७७ वटा मतदान स्थलहरूमा एउटा मात्रै मतदान केन्द्र कायम हुनेगरी सिफारिस भएको निर्वाचन कार्यालयका सूचना अधिकारी जिवाखर शर्माले जानकारी दिए।

बैठकले निर्वाचनकै तयारी स्वरुप मतदाता अध्यावधिक तथा दावी विरोधका लागि आगामी १३ गते जिल्लाका सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ। जिल्लास्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधि र अन्य सरोकारवालाहरूसँग पछिल्लो मतदाताहरूको विवरणबारे अन्तरक्रिया गर्ने भएको हो।

निर्वाचन कार्यालयका अनुसार हाल जिल्लामा १ लाख २४ हजार २ सय ६१ मतदाता विवरण रहेका छन्। जिल्लामा भएको पछिल्लो निर्वाचनमा १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेका थिए।

सम्बन्धित समाचार