राजपत्रको वैधानिकता जाँच गरिपाऊँ भन्दै इजलाससमक्ष निवेदन पेश

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि बहसका क्रममा विपक्षीका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुक्रवार पेश गरेको राजपत्रको वैधानिकता जाँच गरिपाऊँ भन्दै नेकपा सांसदहरूले इजलाससमक्ष निवेदन पेश गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेका नेकपा सांसदहरू देव गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीले आइवार इजलाससमक्ष निवेदन पेश गरेका हुन् ।

प्रतिनिधि सभा विघटन गर्ने निर्णयसम्बन्धी सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै इजलासमा कुरा उठेपछि महान्यायाधिवक्ता खरेलले शुक्रवार शुरूमै राजपत्रको एक प्रति इजलाससमक्ष बुझाएका थिए । सरकारले पुरानै मिति राखेर राजपत्र प्रकाशित गरी बुझाएको आशंकासहित त्यसको जाँचका लागि निवेदन दिइएको सांसद् रामकुमारी झाँक्रीले जानकारी दिइन् ।



यस विषयमा बोल्न पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले आइतवारको बहसको शुरूमै समय माग गरेका थिए । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसहित सरकारी वकिलले बोल्ने पालो नभएका अधिवक्तालाई समय दिन नहुने भन्दै असहमति जनाए । त्यसपछि बेञ्चले श्रेष्ठलाई बोल्ने समय उपलब्ध गराएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
क्त विघटन असंवैधानिक रहेको जिकिरसहित सर्वोच्चमा १३ वटा रिट परेका छन् । ती रिटमाथि गत आइतवारदेखि सर्वोच्चको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

सम्बन्धित समाचार