नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेर प्रतिगमनको ढोका खोलेको बताएका छन् । प्रतिनिधिसभा विघटनको बारेमा प्रधानमन्त्री ओलीले तीन कुरा गरेको बताउँदै अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्री अोलीले शुरुमा पार्टीमा विवाद भएको कारणले यो कदम चलेको, अनि पछि यो संविधान अनुसार नै कदम चालेको भन्नुभयो । पछि त देशको रक्षाका लागि यो कदम चालेका भन्नुभयो, यो कदम किन र कसरी चालें भन्नेमा प्रधानमन्त्री ओली नै स्पष्ट छैनन् ।’
आइतबार नेपाल लोकतान्त्रिक पार्टी र जसपा नेपालबीच एकता घोषणा कार्यक्रममा उनले नेपालको राजनीति लुडाको खेल जस्तै रहेको बताए । ‘देशको राजनीति अग्रगमको रुपमा अगाडि बढ्छ । तर माथि गएपछि लुडोमा सर्पले खाएपछि तल झरेजस्तै नेपालको राजनीति पटक पटक तल झरेको छ’, उनले बताए । २००७ सालदेखि नै त्यस्तै हुँदै आएको र अहिले पनि त्यही खेल शुरु भएको उनले बताए ।
लुडोको खेलजस्तै देशको राजनीतिलाई प्रधानमन्त्री ओलीले त्यो ठाउँमा पुर्याएको टिप्पणी गर्दै अध्यक्ष यादवले ओलीले देशलाई प्रतिगमनतिर धकेल्ने प्रयास गरिरहेको पनि बताए । प्रतिनिधिसभा पुनःस्थापना भएपछि संविधान संशोधन गर्ने बताउँदै उनले यसका लागि सबै दल एक भएर लाग्नुपर्ने बताए ।
