नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै प्रधानमन्त्री केपी ओली नेकपातिर गएकाहरू व्यक्तिका कारण रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने निर्णय नेकपा प्रचण्ड–नेपाल समूहले गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले सम्बन्धित क्षेत्रका स्थायी कमिटी सदस्यहरूको परामर्शमा सचिवालयले पदपूर्ति गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सदस्यबाट पनि निष्कासन गरेको छ । प्रचण्ड–नेपाल समूहले पुस ७ गते ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । पार्टी हित विपरीतको काम गरेको तथा प्रतिनिधिसभा विघटन गरेकाले ओलीलाई अनुशासनको कारवाही गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
यसअघि प्रचण्ड–नेपाल समूहले पार्टी महासचिव विष्णु पौडेललाई समेत कारवाही गर्ने निर्णय गरेको थियो । पार्टी हित विपरीतको काम गरेको भन्दै नेकपाको ओली समूहले प्रचण्डलाई दिइएको कार्यकारी अधिकार खोसेको थियो । ओली समूहले भने नारायणकाजी श्रेष्ठलाई दिएको प्रवक्ताको जिम्मेवारी खोसे पनि प्रचण्डलाई कारवाही गरेको छैन ।
पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–नेपाल समूहले ओलीसँग स्पष्टीकरण मागेसँगै नेकपा विभाजनको प्रक्रिया शुरू भएको थियो । आधिकारिकता दाबी गर्दै दुवै पक्ष निर्वाचन आयोग पुगे पनि आयोगले कुनै निर्णय गरेको छैन ।
