नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कारण समस्या समाधान नहुने बताएका छन् । आइतबार जनता समाजवादी पार्टी नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह) बीच पार्टी एकीकरण घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले प्रतिनिधि सभा पुर्नस्थापना भए पनि सत्तारुढ नेकपाका कारण समस्या समाधान नहुने बताए ।
प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सत्तारुढ नेकपा कानुनी रूपमा विभाजित नभएको अवस्था भएकाले सत्ता नेकपाकै हातमा जाने र यसले समस्याको समाधान नगर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताए । सङ्घीयता, गणतन्त्र, समावेशिता जस्ता मुद्दालाई समाप्त पारि देशलाई पछाडि धकेल्ने प्रयास भएको भन्दै यी परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । प्रतिनिधि सभा विघटनको कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु रहेको उनको भनाइ छ ।
वरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक–पटक बदलिए पनि विचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको धारणा राखे । कम्युनिस्ट र कांग्रेसले देशलाई गोलचक्करमा फसाएको उनले बताए ।
