पूर्वमाओवादी लडाकुलाई फकाउन मन्त्रिपरिषदबाट ओलीले गराए यस्तो निर्णय

जनयुद्धकालीन लडाकुलाई आफ्नो समूहमा तान्ने प्रयास गरिरहेका प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदबाट उनीहरूलाई लोकतन्त्र योद्धाका रूपमा सम्मान गर्ने निर्णय गराएका छन्। बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध र जनआन्दोलनमा सहभागिता जनाउने क्रममा प्रभावित भएका सबैलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो।

मुलुकमा अग्रगामी परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी भएकाहरूलाई सम्मान गर्न भन्दै मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय प्रतिवेदन लेखन समिति बनाएको छ। खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहेको समितले सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहिद भएकाका परिवार, बेपत्ता पारिएकाका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित, घाइते, विस्थापित, अपांगता भएकाहरूकाको विवरण संकलन गर्नेछ।



एक मन्त्रीका अनुसार समितिले उनीहरूलाई लोकतन्त्रको योद्धाका रूपमा सम्मान र परिचयपत्र वितरण गर्न अभिलेख संकलन गरी मापदण्डसहित प्रतिवेदन तयार पारेर सिफारिस गर्ने काम गर्नेछ। यसअघि सरकारले जनयुद्धका घाइतेहरूलाई निस्शुल्क उपचार गर्ने निर्णय गरिसकेको छ।

सम्बन्धित समाचार