नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाको नाम नलिन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् । मंगलबार पाँचथरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपाले ओलीलाई अध्यक्षबाट हटाइसकेकाले नाम नलिन चेतावनी दिएका हुन् ।
‘४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन्’, उनले भने, ‘यदि, अध्यक्ष नै बन्ने मन छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ । गुटको अध्यक्ष बन्नुहोस्, घरको अध्यक्ष बन्नुहोस् ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सूर्य चिन्ह नपाउने बताउँदै बयलगाडा लिएर चुनावमा जान आग्रह गरेका छन् । उनले केपी ओली निर्वाचनबाट आएको तानाशाही भएको आरोप लगाएका छन् ।
उनले प्रचण्डसँग आफ्नो ४० वर्षदेखीको सम्बन्ध रहेको बताउँदै केपी ओलीले 0६३ सालबाट मात्रै चिनेको बताए । त्यस्तै उनले आफूलाई प्रधानमन्त्री ओलीले मामूली कार्यकर्ता भनेको विषयमा आपत्ति जनाएका छन् । उनले १५ वर्ष पार्टी हाँकेको मान्छेलाई मामुली कार्यकर्ता भन्ने रु भन्दै आक्रोश पोखेका छन् ।
