नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ माघ ।

नेकपा (प्रचण्ड माधव समूह)का नेता भीम रावलले प्रधानमन्त्री केपी ओली अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् । बाजुराको कोल्टी संसद विघटनविरुद्धको विरोधसभामा नेता रावलले प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गरेको सन्दर्भमाथि कटाक्ष गर्दै यस्तो बताएका हुन् ।
ओली सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर गएर विशेष पूजापाठ गरेका थिए । तर उनले पशुपतिमा गएर बत्ती बाल्दैमा पाप नपखालिने जिकिर समेत गरे । उनले भने, ‘संसद विघटनको चौतर्र्फी बिरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराध बत्ती बालेर पखालिँदैन ।’
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावलले केपी ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको बरु उल्टै विदेशीहरुसँग झुक्न थालेको पनि आरोप समेत लगाए । यस्तै देश र जनता विरोधी काम गर्न थालेपछि पार्टीले ओलीलाई रोक्न खोजेको उनले स्मरण गर्दै कोरोना भाइरस नियन्त्रणमा कुनै चासो नदेखाको आरोप लगाए ।
