नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ माघ ।

नेपालमा बुधबारदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिँदैछ । खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी ओलीले बिहान १० बजे टेकु अस्पतालबाट गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको छ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमका अनुसार काठमाडौंमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहेका छन् ।
काठमाडौंमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन् । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहेका छन् । यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहेका छन् ।

