नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ माघ ।

प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । उनले खोप निःशुल्क उपलब्ध गराउने बताए । बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिए पनि सावधानी भने अपनाइरहनुपर्ने बताए ।
कोरोनाविरुद्धको लडाईलाई जारी राख्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले खोपको मात्रै भर परेर अन्य कुरामा लापरवाही गर्न नहुने बताए ।
भारतले आफ्नो मुलुकमा खोप सुरूवात गरेको एक हप्तामै नेपाललाई दिएकोमा उनले धन्यवाद व्यक्त गरेका छन् । उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरेका छन् । आज लगाइएको खोपको दोस्रो डोज २८ दिनपछि लगाइने भएकाले सो क्रममा लापरबाही नगर्न पनि उनले आग्रह गरेका छन् ।
