नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अब डफलीवाला भनेर टिकटकमा उडाउने बताएका छन् । आदिवासी जनताजीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले डम्फु बजाएकाले टिकटकमा उडाउने निश्चित रहेको बताएका हुन्।
‘अनपढ नागरिकहरुले होइन। पढेलेखेका आईटी विज्ञ भन्नेहरुले मलाई अब टिकटकमा डफलीवाले भनेर उडाउने निश्चित छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले डम्फु बजाएर आदिवासी जनजातिहरुको राष्ट्रिय भेला उद्घाटन गरेका थिए ।
ओलीले आफ्नो पशुपति दर्शनले धेरैको टाउको दुखेको भन्दै कसैले पनि टाउको दुखाउनुपर्ने कारण नभएको बताए । ओलीले राज्यले सबै धर्मप्रति समान दृष्टीकोण राख्ने र नेपाली नागरिकको आस्था भएका स्थलमा आफू पुग्ने बताए ।
‘राज्य सबै धर्मप्रति समान दृष्टीकोण राख्छ । राज्यको विशेष धर्म हुँदैन । नेपाल १ सय २७ जातजाति र भाषाभाषीको देश हो । म महादेव, कृष्ण बुद्ध सबैका स्थलमा पुग्छु । म पशुपति जाँदा सिटामोलले समेत ठीक नगर्नेगरी टाउको दुखाउनुपर्ने जरुरी छैन,’ उनले भने । नेपाल राज्यको कुनै विशेष धर्म नहुने ओलीले बताएका छन् ।
