पहिलो दिन नौ हजारभन्दा धेरैले लगाए कोरोना खोप

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको पहिलो दिन बुधवार नौ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । बुधवार ६४ जिल्लाका ९३ खोप केन्द्रबाट नौ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार खोप लगाउनेमध्ये प्रदेश १ मा एक हजार दुई सय ५५ जना, प्रदेश २ मा सात सय २६ जना, वागमती प्रदेशमा दुई हजार छ सय ९४ जना र गण्डकी प्रदेशमा एक हजार आठ सय ४३ जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा सात सय ३३ जना, कर्णालीमा सात सय ५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।



भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप सरकारले केही दिनअघि ल्याएको थियो । ७७ वटै जिल्लामा खोप केन्द्र सञ्चालन गरेर आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारले जनाएको छ । पहिलो डोज खोप लगाएकाहरूले २८ दिनपछि दोस्रो डोज खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

खोप अभियानको शुभारम्भ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँलाई नयाँ चरणमा उठाएको बताए । अब कोरोना नियन्त्रणका लागि महत्त्वपूर्ण चरणमा पुगेको भन्दै उनले तीन महिनाभित्र खोप लगाउन योग्य सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने दाबी पनि गरे । उनले कोरोनाविरुद्धको खोप नाफा कमाउने तथा व्यापारको माध्यम बन्न नहुने भन्दै सरकारले सबैलाई निःशुल्क उपलब्ध गराउने बताए ।

सम्बन्धित समाचार