प्रधानमन्त्रीविरुद्धको मुद्दाको पेशी आज, न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ हुने

सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको पेशी आजलाई तोकिएको छ । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सर्वोच्च अदालत र न्याय प्रकृयाकै उपहास गरेको भन्दै दायर मानहानी तथा अवहेलना मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ हुने भएको हो ।

शर्माको इजलासमा अवहेलनासम्बन्धी अन्य दुई मुद्दा पनि परेका छन् । चार पूर्व प्रधानन्यायाधीशले जारी गरेको संयुक्त विज्ञप्तिले न्यायालयमा विचाराधीन मुद्दालाई प्रभावित पार्न सक्ने भन्दै दायर रिट पनि शर्माकै इजलासमा परेको छ । यस्तै, पूर्वसभामुख दमननाथ ढुंगानाले दिएको अभिव्यक्तिबाट न्यायालयको अवहेलना भएको भन्दै दायर रिट पनि उनकै इजलासमा एक साथ सुनुवाइ हुने भएको हो ।



प्रतिनिधिसभा विघटनबारे सुनुवाइ भइरहँदा सर्वोच्च अदालतमा ‘अवहेलना मुद्दा’ को लर्को लागेको छ । वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्यले माघ ११ मा प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनाको रिट लिएर गएका थिए । सो रिटको काउन्टरमा चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाबिरुद्ध रिट दायर भएका छन् ।

कुमार शर्माको रिट दर्ता गर्न आनाकानी गर्दै सर्वोच्च प्रशासनले दुई दिन होल्ड गरेको थियो । तर, पूर्व प्रधानन्यायाधीशहरु र दमननाथविरुद्ध पनि रिट गएपछि मात्र बल्ल सर्वोच्चले सबै रिट दर्ता गरेर पेशीमा चढाउने सूचना निवेदकलाई दिएको हो ।

अधिवक्ता धनजित बस्नेतले पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीबिरुद्ध रिट दर्ता गराएका छन् । पूर्व प्रधानन्यायाधीशबिरुद्ध लोचन भट्टराईले पनि रिट हालेका छन् । अधिवक्ता राजाराम घिमिरेले पूर्व प्रतिनिधिसभाका सभामुख दमननाथ ढुंगानाबिरुद्ध रिट हालेका छन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीबिरुद्ध रिट हालेका छन् ।

सम्बन्धित समाचार