नेकपाको दुवै समूहलाई बोलायो निर्वाचन आयोगले

नेपाल कम्युनिस्ट पार्टीको विभाजन सम्बन्धीको विवाद र संसद विघटनको मुद्दा अदालतमा बिचाराधीन रहे पनि निर्वाचन आयोगले चुनाव सम्बन्धि गतिविधि भने अघि बढाएको छ। मतदाता नामावली अद्यावधिक, मतदान स्थलको अवस्था लगायतका विषयमा आयोगले अनुगमन थालेको छ। साथै, आयोगले राजनीतिक दलसँग पनि छलफल अगाडि बढाएको छ।

चुनाव सम्बन्धी छलफलका लागि आयोगले नेकपाका दुवै समूहलाई शुक्रवार आयोगमा बोलाएको छ। बिहान ११ बजेका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड वा उनीहरुले तोकेका ५-५ जना प्रतिनिधिलाई बोलाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।



चुनावको तयारीका विषयमा दलगत छलफलका लागि निर्वाचन आयोगले बोलाएको हो। अहिलेसम्म निर्वाचन आयोगले चुनावका लागि गरेका क्रियाकलापबारे पनि छलफल हुने श्रेष्ठले बताए। नेकपाको विवादबारे भने कुनै छलफल नहुने उनको दाबी छ।

निर्वाचन आयोगले बोलाएको छलफलमा आफ्नो समूहले सहभागिता जनाउने नेकपा प्रचण्ड-माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए। उनले छलफलमा भाग लिए पनि निर्वाचन आयोगले चुनावको लागि सुरु गरेका गतिविधिप्रति आपत्ति रहने बताए।

सम्बन्धित समाचार