मुख्यमन्त्री पोखरेलद्वारा २५ प्रतिशत काम सकिएको पुलको शिलान्यास

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा २५ प्रतिशत काम सकिएको पुलको शिलान्यास गरेका छन् । नेकपा ओली पक्षको जिल्ला भेला गर्न रोल्पाको लिबाङ पुगेका पोखरेलले लिबाङनजिकै रहेको धाङ्सीखोलाको २५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको पुलको शनिबार शिलान्यास गरेका हुन् । करिब एक घन्टा पुल शिलान्यासमा बिताएका मुख्यमन्त्री पोखरेलले दिनभरि ओली पक्षका कार्यकर्तालाई प्रशिक्षणमा बिताएका थिए ।

मुख्यमन्त्री पोखरेलले सम्पन्न भइसकेको पिलरमा बसेर पूजापाठसहित पुलको शिलान्यास गरे । प्रदेशका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी र मुख्यमन्त्री पोखरेलका श्रीमती तथा विघटित प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले शिलान्यासमा सघाएका थिए । ६० मिटर लम्बाइ रहेको पुलको तीन पिलरमध्ये दुई पिलर सम्पन्न भइसकेका छन् । त्यही पिलरमा बसेर मुख्यमन्त्री पोखरेलले पुलको शिलान्यास गरे ।



‘गर्नुपर्ने समयमा शिलान्यास नगरेर के गर्न खोजेको हो ?’ निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मानबहादुर खत्रीले भने, ‘गर्नुपर्ने वेलामा कसैले वास्ता नगर्ने, आधा बन्न लागेपछि सबैले आँखा लगाउने काम राम्रो भएन ।’

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले पनि उद्घाटन गर्ने समयमा शिलान्यास गर्नु त्यति राम्रो नभएको प्रतिक्रिया दिए ।

मुख्यमन्त्री पोखरेलले आलोचना मात्र गर्ने प्रवृत्ति राजनीतिमा मौलाएको चर्चा गर्दै हरेक योजनामा शिलान्यासपछि मात्रै जनताले चासो राख्ने गरेको बताए । ‘शिलान्यास नहुँदासम्म यो पुलको बारेमा कसैलाई चासै थिएन होला’ पोखरेलले भने, ‘आज हामीले शिलान्यास ग-यौँ अब यसको गुणस्तरीयता र समयमै काम सम्पन्न गर्नका लागि यहाँको जनताले चासो राख्नेछन्, शिलान्यासको महत्व यहाँनेर छ ।’ शिलान्यासलाई अनर्थ नलगाउन आग्रह गर्दै पोखरेलले राम्रो कामको चर्चा गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार