बादलले प्रचण्डलाई भने- पार्टीमा फर्किनुस्, मतपत्र च्यात्नु पर्दैन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पार्टीमा फुट पैदा गरेको टिप्पणी गरेका छन्। शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले उनीहरूलाई केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाका फर्किन पनि अपील गरे।

‘तपाईंहरूले जसरी पार्टीमा फुट पैदा गर्ने दुस्साहस गर्नुभएको छ, त्यसबाट पछाडी फर्किनुस्’, गृहमन्त्री थापाले भने, ‘आफ्ना गल्ती स्वीकार्नुस्, आउनुस् पार्टीमा फर्किनुस्। जनता एकता चाहान्छन्।’ उनले गल्ती स्वीकार्दै सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्न पनि सुझाएका छन्। ओली नेतृत्वको पार्टीमा आए मतपत्र च्यात्नु नपर्ने उनको टिप्पणी छ।



‘आउनुस्, निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्नुस्, तपाईंहरूलाई मतपत्र च्यात्न जरुरी पर्ने छैन’, बादलले भने। गएको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका प्रमुखका लागि उम्मेद्वार बनेकी प्रचण्डपुत्री रेणु दाहालका पक्षधरले मतपत्र च्यातेका थिए। पछि फेरि मतदान भएको थियो। त्यसपछि दाहाल मेयरमा निर्वाचित भएकी थिइन्। त्यसैलाई व्यंग्य गर्दै बादलले मतपत्रको प्रसंग ल्याएका हुन्।

 

सम्बन्धित समाचार