देशलाई संकटमा पर्ने प्रधानमन्त्री कसरी राष्ट्रवादी भए ?

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान अवस्थाको कारक सत्ताधारी दलको द्वन्द्व भएको बताएका छन् । राष्ट्रिय इन्जिनियर संघको राष्ट्रिय भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उनले सत्ताधारीद्वारा संकट उत्पन्न गरी संविधानमाथि नै प्रहार हुने कार्य भएको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले आफूमाथि परेको संकटकै कारण संसद् विघटन गर्न पुगेको आरोप लगाउँदै अध्यक्ष ठाकुरले भने, ‘प्रधानमन्त्रीले संकट उत्पन्न गरी आफूलाई ठूलो राष्ट्रवादी भन्न रुचाउने र संसद् पुनःस्थापना गर्नेलाई उहाँ ठूलो राष्ट्रद्रोही ठान्नुहुन्छ ।’ उनले संघीय संरचना प्राप्त भए पनि शासन विभेद गर्नेहरूको हातमा भएकाले त्यसको प्रतिफल प्राप्त हुन नसकेको बताए ।



सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जनताका लागि संविधान र व्यवस्था आउन नसकेका कारण देशमा पटक–पटक समस्या उत्पन्न हुने गरेको धारणा राखे ।

प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले जनताको विश्वास गुमाइसकेको आरोप लगाए । संघका अध्यक्ष भगवान् झाको अध्यक्षतामा भएको सो समारोहमा जनता समाजवादी पार्टीका नेताहरू शरत्सिंह भण्डारी, अनिल झा, राजकिशोर यादवलगायतले संकटको समाधानमा सबैको पहल आवश्यक रहेको धारणा राखे ।

सम्बन्धित समाचार