नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ माघ ।

प्रधानमन्त्री केपी ओलीले एकतर्फी रूपमा प्रतिनिधिसभा भङ्ग गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा एकाएक चिरा चिरा भयो । ओलीको कदम असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूहले देशभर ओलीको भण्डाफोर गरिरहेका छन् । प्रारम्भिक दिनमा अलमलमा रहेको नेपाली कांग्रेस पनि पछिल्लो समय ओलीविरूद्ध आक्रमक रूपमा लागेको छ । नागरिक समाजदेखि मानवअधिकारकर्मी, समाजसेवीदेखि कानुन व्यवसायीसम्म ओलीको असंवैधानिक कदम सच्चिनुपर्ने भन्दै आन्दोलनमा होमिएका छन् । तर नेकपाकै उपाध्यक्ष वामदेव गौतम भने पार्टी एकता अभियानको घोषणा गर्दै जारी आन्दोलनबाट पाखा लागे ।
गौतमले सोचेजस्तो एकता अभियानमा नेकपाका नेता कार्यकताले चासो देखाएनन् । न त छिमेकी राष्ट्रहरूले नै वामदेवको अभियानलाई पत्यायो । यसबीचमा नेपालको राजनीतिक गतिविधिलाई लिएर भारत तीन र अमेरिकाका राजदूतहरूले शीर्ष नेताहरूलाई भेटेर राजनीतिक घटनाक्रमका बारेमा चासो देखाइरहेको बेलामा वामदेव र उनको अभियानप्रति उनीहरूको कुनै चासो रहेन । त्यसो त देशभित्रकै राजनीतिककर्मी र मिडियाले पनि वामदेवको अभियानलाई प्राथमिकता दिएको पाइएन । ओलीको कदमविरूद्ध भैरहेका ठूला ठूला आन्दोलनको छायाँमा गौतम परिरहे ।
०५४ सालमा तत्कालीन एमाले फुटाएर माले गठन गरेपछि नेपालको राजनीतिबाट झण्डै झण्डै पलायन भएका गौतमले अहिलेको अवस्थालाई पनि सो परिघटनासँग आफैं तुलना गरेका छन् । माले गठन गरेको चारवर्षपछि ‘हाम्रो निर्णयलाई इतिहासले उच्च मूल्याङ्कन गर्नेछ’ भन्दै पार्टी फुटाएका गौतमले ‘पार्टी विभाजन गल्ती थियो, म आत्मालोचना गर्छु’ भन्दै ०५८ मा एमालेमै फर्किएका गौतम भने यसपटक भने बेलैमा सचेत भएर नेकपाको जारी विवादमा प्रचण्ड–नेपाल खेमामा उभिने तयारीमा रहेको स्रोतले बतायो ।
त्यसो त प्रचण्ड माधव समूका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक कार्यक्रममा आफ्नो आन्दोलनमा गौतमको पनि समर्थन रहेको भन्दै छिट्टै गौतम आफ्नो समूहमा प्रवेश गर्ने संकेत दिएका थिए । नेकपाको दुबै समूह आ–आफ्नो रणनीतिको साथ अगाडि बढ्दासम्म तटस्थ बसेकोले पछिल्लो समयमा गौतमको साथमा नेता कार्यकर्ता रहेका छैनन् । त्यसैले पनि गौतमले जुनसुकै समूहमा प्रवेश गरे पनि सो समूहको शक्ति सन्तुलनमा र नेपालको राजनीतिमा देखिने गरी कुनै परिवर्तनको अपेक्षा गर्न भने सकिँदैन ।
