नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ माघ ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले ज्ञानेन्द्रपथ मन पराएको आरोप लगाएका छन् । ‘उहाँलाई संसदमा विश्वासको मत लिन आँट पुगेन, त्यसैले ज्ञानेन्द्र पथ अंगाल्नुभयो, कांग्रेस त्यो कदम सच्याउन सडकमा छ,’ नेता सिंहले भने ।
सोमबार १३ वटै भ्रातृ संस्थाहरूले काठमाडौंमा संयुक्त रूपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सिंहले आमनेपाली जनताले सडकबाट दबाब दिएपछि ओलीको होस खुल्ने बताए । ‘ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छ, राजाको पालामा शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले अहिलेको ओलीको कदमलाई पनि सच्याउँछ, मलाई विश्वास छ,’ उनले भने ।
ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरुपयोग गरेर, जनभावनाविपरीत संविधान कुल्चेर संसद् विघटन गरेको उनले बताए । उनले ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र बदनियतपूर्ण बताउँदै यसले लोकतन्त्रमाथि प्रहार गरेको धारणा राखे । संविधान मिचेर निर्वाचनको ललिपप देखाएको आरोप लगाउँदै नेता सिंहले भएको संविधान मिचेर अन्तर्राष्ट्रिय अभ्यासको पाठ सिकाउँदै हिँड्न गलत भएको बताए । प्रतिनिधिसभा सामना गर्ने हिम्मत नभएका ओलीले जनता छक्याउन निर्वाचनको बहाना रचेको उनको भनाइ छ । ओलीले आफू तानाशाह बन्नका लागि प्रतिनिधिसभा भंग गरेको उनको जिकिर छ ।
संविधानको विशेषता शक्ति सन्तुलन भएकाले यसलाई यसलाई सुधार गरी चेक एन्ड ब्यालेन्समा राख्ने काम न्यायपालिकाको भएको नेता सिंहको भनाइ छ । सरकारले सत्तामा पुगेपछि आसेपासे पोस्ने गरेको आरोप लगाउँदै उनले नेकपालाई नामको मात्र कम्युनिस्ट पार्टी भएको बताए ।
