जाम नहोस् भनेर रातको समयमा बख्तरबन्द गाडी निकालेका हौंः सेना

नेपाली सेनाले बख्तरबन्द गाडीसहित सोमबार राति सडकमा अभ्यास गरेको छ । काठमाण्डौ उपत्यकाको चक्रपथसहित विभिन्न ठाउँका सडकमा बख्तरबन्द गाडी निस्किएको हो । बख्तरबन्द गाडीसहित सेनाको प्रदर्शनलाई आशंकाका रुपमा हेरिए पनि नेपाली सेनाले यो नियमित अभ्यास नै भएको बताएको छ । सेनाका प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले नियमित अभ्यासको योजनाअनुसार नै अभ्यास गरेको बताए ।

उनले भने– ‘हामीले ट्राफिक जाम नहोस् भनेर रातको समयमा बख्तरबन्द गाडीसहित अभ्यास गरेका हौँ । भ्रम नपरोस् भन्ने हिसाबले हामीले यसअघि नै यसबारे जानकारी गराएका थियौँ ।’



सेनाले भोलि बुधवार पनि देशका विभिन्न ठाउँमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने जनाएको छ । जाम नहोस् भन्नका लागि बुधवार बिहान ५ बजे नै बख्तरबन्द गाडी निस्कने र काभ्रेको पाँचखालसम्म पुग्ने सेनाका प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए ।

लामो दूरीमा समेत अभ्यास गर्नुपर्ने भएकाले पाँचखालसम्म पुग्ने र त्यहाँबाट बेलुका ८ बजे फर्किने उनले जानकारी दिए । ब्यारेकभित्रैको अभ्यासले मात्र नभएर चालकले सडकमा नै गुडाउने अभ्यास गर्नुपर्ने भएकाले सडकमा निस्किएको उनले बताए । यसलाई अन्यथा नलिन पनि उनको आग्रह छ ।

बख्तरबन्द गाडीसहित प्रदर्शन गर्नु अगाडि नै सेनाले यसबारे जानकारी दिएको थियो । गएको आइतबार सेनाले ट्वीटमार्फत नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार सोमवार राति बख्तरबन्द गाडीहरुले काठमाण्डौं चक्रपथको चक्कर लगाउने जनाएको थियो ।

सम्बन्धित समाचार