नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।

संसद् पुनःस्थापनाको पक्षमा फैसला नगरे सर्वोच्च अदालतबाट न्यायाधीशहरूलाई जनताले थुतेर सडकमा ल्याउने रामकुमारी झाँक्रीले चेतावनी दिएकी छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपा घ्याङलेख गाउँपालिका कमिटीले रामपुर बजारमा आज प्रधानमन्त्रीको असंवैधानिक कदमविरूद्व आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य झाँक्रीले यस्तो चेतावनी दिएकी हुन्।
जनता एकताबद्ध भएर ज्ञानेन्द्रलाई राजाबाट हटाएको स्मरण गर्दै उनले प्रधानमन्त्री ओलीलाई त्योभन्दा पनि कडा सजायस्वरूप राजनीतिक मृत्युदण्ड दिनुपर्ने बताएकी हुन्। झाँक्रीले यसअघि पनि प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यस्तै चेतावनी दिइसकेकी छन्।
संसद पुनःस्थापना गरेर ओली र राष्ट्रपति विद्या भण्डारी नसच्चिए दुवैलाई देश निकाला गर्नुपर्ने उनले बताइन्।
