नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ माघ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ पेस गर्न आदेश दिएको छ । प्रचण्डविरुद्धको अवहेलना मुद्दामा न्यायाधीश मनोज शर्माको एकल इजालसले कारण देखाउ आदेश दिएको हो । प्रचण्डविरुद्धको अवहेलना मुद्दामा मंगलबार बेञ्च बस्न नपाएकाले मुद्दाको पेसी सरेको थियो ।
अध्यक्ष प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले सोमबार सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा अदालतमाथि टिप्पणी गरेका थिए ।
विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौँ । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालत नै ठूलो हो । सारा देशले सुने हुन्छ ।’
