नेकपाको प्रचण्ड-माधव पक्षको नेपाल बन्द: ठाउँठाउँमा तोडफोड, ११२ जना पक्राउ

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले विहीबार घोषणा गरेको आमहड्तालमा देशभरबाट ११२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आमहड्तालको नाममा तोडफोडमा उत्रिएका ११२ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी वसन्त कुवँरले नेपाल लाइभलाई जानकारी दिए। उनका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट मात्रै ७६ जनालाई नियन्त्रणमा लिइएको छ।



कलंकीबाट प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीसहित दर्जनभन्दा बढी कार्यकर्तालाई महानगरीय प्रहरी शिक्षालय महाराजञ्जमा राखिएको छ।

काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाहरुमा भने बन्दको प्रभाव बढी रहेको छ। मुख्य नाका छिर्ने ठाउँमा ठूलो संख्यामा प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताको उपस्थित रहेको छ। उनीहरूले उपत्यका भित्रने सवारी साधनहरूलाई कडाइ गरेका छन्। उपत्यका बाहिर पनि आमहड्तालको प्रभाव परेको छ। छिटपुट बाहेक गाडीहरू नचलेको प्रहरीले जनाएको छ।

संसदीय सुनुवाइ बिना नै विभिन्न संवैधानिक निकायमा ३२ जना पदाधिकारी बुधबार नियुक्त गरेपछि थप ओक्रोशित भएको प्रचण्ड–नेपाल पक्षले बुधबार साँझ राँके जुलुस र विहीबार आमहड्ताल घोषणा गरेको थियो। आमहड्तालमा हुनसक्ने तोडफोड र झडपलाई मध्यनजर गर्दै उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। यति हुँदाहुँदै पनि बिहानै सामाखुसीमा बन्दकर्ताले एउटा ट्याक्सी समेत आगजनी गरेका थिए। यो बाहेक अन्य पाँच वटा गाडीमा समेत तोडफोड भएको प्रहरी प्रवक्ता कुवँरले बताए।

सम्बन्धित समाचार