नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।

राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्ने टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन् ‘राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडक संघर्षमा उत्रिएका छन् । राजसंस्था प्रजातन्त्रको बाधक होइन । संविधानको परिधिभित्र राख्ने हो भने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ।’
थापा अगाडि लेख्छन्- ‘अहिले नेपालको राजनीति रेफ्री विनाको खेल जस्तो छ । जसको शक्ति उसको भक्ति कायम छ । एकले अर्कोलाई समाप्त पार्ने प्रतिस्पर्धा चलेको छ । बढदै जाँदा राजनीतिक दल र नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जान्छ। त्यो रिक्त अवस्थामा गैरराजनीतिक शक्ति र विदेशीको हातमा देशको बागडोर जाने खतरा हुन्छ ।’
परिस्थिति विगार्न देशी बिदेशी शक्तिहरू क्रियाशील भएकाे उनले बताए । ‘एकले अर्कोलाई गलत प्रमाणित गर्ने होडमा कोही पनि अन्धो र मति भ्रम नबनौं । केपी ओलीको गल्ती सच्याउन अर्को खतरनाक गल्ती नगरौँ। यो धरातलीय यथार्थ बुझेर र विगतका कमजोरी हटाएर सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्ने प्रयास गरौँ’, थापाले भने ।
