एमसीसीविरुद्ध नारा लगाउँदा किन झस्किए प्रचण्ड ?

आफ्नो समूहले आयोजना गरेको आमहड्ताल कार्यक्रममा सहभागी हुन नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विहीबार बिहान पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाल लगायत नेता कार्यकर्ता पहिल्यैदेखि खटिएका थिए । विभिन्न नारा लगाउँदै उनीहरु सडकमा बसिरहेका थिए । दाहाल पनि त्यही हुलमा थपिए र दायाँ हातलाई तलमाथि उचाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नारा लगाउन थाले ।

नेकपाकै एक कार्यकर्ताले नारा लगाइरहेका थिए । प्रचण्ड, भुसाल, रिजालसहितका नेताले कहिले जिन्दावाद र कहिले मुर्दावाद भनिरहेका थिए । उद्घोषण गरिरहेका तीन कार्यकर्ताले अर्को नारा लगाए, ‘एमसीसी चाहिँदैन ।’



एमसीसीको विरोधमा नारा लागेपछि दाहाल झस्किए र भुसाललाई अहिलेको समयमा उक्त नारा लगाउनु ठीक नभएको संकेत गरिहाले । उनी त्यत्तिमै रोकिएनन्, आफैले नयाँ नारा पनि दिए । उनले उद्घोषकलाई इंगित गर्दै प्रतिगमनविरुद्ध नारा लगाउन सल्लाह दिए । उद्घोषकले तत्काल त्यसलाई माने पनि ।

तर, केही समयपछि नै उद्घोषकले उही नारा दोहोरइहाले, एमसीसी चाहिँदैन । दाहाल उद्घोषकले उक्त नारा लगाउने बित्तिकै मौन बसे । त्यसपछि आफूलाई ढिलो भएको संकेत गर्दै बिदा मागेर हिँडे । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार