नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।

प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्तिविरुद्ध रिट निवेदन दायर गर्न सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालत पुगेका छन्। शुक्रबार सभामुख सापकोटा आफैँ अदालतमा उपस्थित भएर गैरसंवैधानिक रुपमा गरिएको नियुक्ति खारेज गर्न माग गर्दै उनले रिट निवेदन दायर गर्न लागेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए।
‘सभामुखज्यू अहिले सर्वोच्च आइपुग्नुभएको छ, उहाँले संवैधानिक निकायहरुमा गरिएका नियुक्तिको विषयमा रिट निवेदन दिनुहुनेछ,’ न्यौपानेले बताए। सभामुखसहित शशी श्रेष्ठ, रेखा शर्मा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायतका विघटित प्रतिनिधि सभाका पनि सभामुखसँगै सर्वोच्च पुगेका छन्।
सभामुख सापकोटाले केही समयपछि पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराउने बताइएको छ। सभामुख सापकोटाले संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस फिर्ता पठाएका थिए।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्त गरेका थिए।
