नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको तेश्रो चरणको विरोध कार्यक्रम अन्तर्गत शनिबार शुभेच्छुक संघरसंगठनहरुले ७७ वटै जिल्लामा विरोध र्याली तथा विरोभ सभा गर्दैछन् । कांग्रेसले प्रतिनिधिसभा विघटन, त्यस विरुद्धको आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथ ग्रहणका विषयलाई थप गम्भीरतापुर्वक लिएर एकवद्ध भएर आन्दोलनका कार्यक्रमलाई अझ व्यापक बनाउन कांग्रेसले अपिल गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलनमा रहेको कांग्रेसले यसअघि प्रतिनिधिसभा विघटनको विरोधमा पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते विरोध कार्यक्रम गरिसकेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले जनतालाई दुःख नदिने गरी शान्तिपूर्ण विरोध प्रदर्शनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्ति विरुद्ध कांग्रेसले सँधै संसद र सडक दुवै ठाउँमा सालिन ढंगले विरोध गर्दै आएको दाबी गरेका छन् ।
‘अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं, संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौं,’ प्रवक्ता शर्माले भनेका छन्, ‘विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं ।’
प्रवक्ता शर्माले संवैधानिक परिषद सम्बन्धि संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले सुरु देखिनै कुल्चिंदै आएको विषयमा संस्थागत निर्णयका साथ कांग्रेस प्रष्ट रुपले विरुद्धमा उभिएको जानकारी दिएका छन् । ‘संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ,’ प्रवक्ता शर्माले विज्ञप्तिमार्फत् भनेका छन् ।
