नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।

प्रधानमन्त्री केपी ओली आज निर्वाचन आयोग जाँदै छन् । निर्वाचनको तयारी र नेकपाभित्रको आधिकारिकता विवादलगायतका विषयमा कुराकानी गर्न उनी आयोग जान लागेका हुन् ।
प्रधानमन्त्री ओली बिहान एघार बजेपछि आयोग पुग्ने कार्यक्रम रहेको छ । जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा रहेका प्रधानमन्त्रीले आयोगका कामबारे पनि जानकारी लिने बताइएको छ । चुनावका कार्यक्रमलगायत विषयमा आयोगको ध्यानाकर्षण पनि उनले गराउने बुझिएको छ ।
आयोगले आधिकारिकता विवादमा छलफल गर्न यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।
प्रतिनिधिसभा विघटनपछि पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद शुरु भएपछि पहिलोपटक आयोग जान लागेका हुन् ।
