सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले यहि माघ ३० गते ल्होछारको पर्वको अवसरमा सार्वजानिक विदा दिने भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक विदा दिने भएको हो। यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिईंदै आएको विदा ओली नेतृत्वकै सरकारले ३ वर्ष अघि कटौती गरेको थियो।

तामाङ समुदायको नेतृत्व गर्ने नेपाल तामाङ घेदुङको बारम्बारको आग्रहपछि हिजो बसेको मन्त्रिपरिषदको विदा पुनः दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री दावा तामाङले जानकारी दिए। यो वर्ष तामाङ समुदायले २०५७ सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन्। यसैबीच यो वर्ष विगतका वर्षहरुमा जस्तै ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा कार्यक्रम नहुने भएको छ।



कोभिडको जोखिम अझै कायम रहेकाले भर्चुअल माध्यमबाट कार्यक्रमहरु गर्ने र घरघरमा मनाउने तयारी गरेको नेपाल तामाङ घेदुङका कार्यवाहक अध्यक्ष कुमार घिसिङले जानकारी दिए। यो वर्ष मुसा वर्गलाई विदाई गरी गोरु वर्गको स्वागत गरिँदैछ।

साथै मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन हुने प्रदेशहरु र त्यसअन्तर्गतका जिल्ला विभाजन गरेको हो।

वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुने एक मन्त्रीले जानकारी दिए।

सम्बन्धित समाचार