नेपाल लाइफले गर्यो २०औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । २०७७ माघ २८ गते बुधबार, वीरगञ्जमा सम्पन्न साधारण सभाले शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रू.२० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । बोनश शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ७,१९,९९,७०,६६१।— हुने कम्पनीबाट वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष संघईले समीक्षा वर्षमा कम्पनीले कूल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३०.०९ प्रतिशत बजारहिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।



अध्यक्ष संघईले दुई दशकमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरूबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दशकको अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

साना लगानीकर्ताहरूलाई समेत कम्पनीको शेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्रति शेयर अंकित मूल्य रू.१०० को व्यवस्थालाई परिवर्तन गरी प्रति शेयर अंकित मूल्य रू.५० कायम गर्ने प्रस्ताव पारित गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्न संचालक निर्वाचनबाट विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने निर्विरोध निर्वाचित भएका छन् भने संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरी सोको स्वीकृतिको लागि बीमा समितिमा पठाउने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार