नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते बुटवलमा गर्ने शक्ति प्रदर्शनसहितको आमसभामा गर्ने भएको छ । सो आमसभामा ओली समूहले २ लाख जनता उतार्ने दाबी गरेको छ ।
बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त सभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एकलाख गरी २ लाख जनता जुटाउने तयारी गरिएको सो समूहका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले बताएका हुन् । पोखरेलले सभामा पूर्व जनमुक्ति सेनाको पनि सहभागिता रहने बताए । प्रधानमन्त्रीलाई दलले नियन्त्रण गर्न खोज्दा प्रतिनिधि सभा विघटन भएको पोखरेलले जिकिर गरे ।
संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको बारेमा जनतालाई जानकारी दिन सभाको आयोजना गरिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ । बुटवलको सिद्धेश्वर माविको प्राङ्गणमा सभा हुने छ । ‘जनादेशको पक्षमा प्रचण्ड नेपाल पक्ष नलाग्दा बाध्य भएर प्रधामन्त्रीले प्रतिनिधिसभा भंग गर्नुपरेको हो’ पोखरेलले भने, ‘अब ताजा जनादेशले अहिलेको समस्या हल हुन्छ ।’
आफूहरुको शक्ति प्रदर्शन आन्दोलन नभएर अभियान भएको मुख्यमन्त्रीको भनाइ छ । फागुन १ गतेको कार्यक्रमलाई लक्षित गर्दै नेकपा केपी ओली पक्षले बिहीबार नै बुटवलमा मोटरसाइकल र्याली समेत गरेको छ ।
