नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० माघ ।

लमजुङको दोर्दी गाउँपालिका ६, सिमीगाउँ नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ३ जना गम्भीर घाइते भएका छन्। दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर फर्किंदै गरेको प्रदेश ३–०१–०२२च १३८३ नं. को जिप विहीबार साँझ ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेर दुर्घटना भएको हो।
दुर्घटनामा आयोजनामा कार्यरत दुईजना इन्जिनियर र जिप चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय लमजुङका प्रमुख एवं डीएसपी गंगाबहादुर थापाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन्।
त्यस्तै धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जिनियर सुनिलकुमार साह, दोर्दी गाउँपालिका ६, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक घाइते भएका छन्। विद्यार्थीहरु स्कुल बिदा भएपछि गाउँ जान जिप चढेका थिए। घाइते उनीहरुको जिल्ला अस्पताल बेंसीसहर ल्याई उपचार भईरहेको जिल्ला प्रहरीले जनाएको छ।
