नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० माघ ।
‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको बैंकबाट प्राप्त विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख अतिथिका रूपमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पोको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मूल्य सबै क्युआर कोडमार्पmत भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरे । कार्यक्रममा सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पो तथा ३४ वटा अन्य विभिन्न व्यापारीहरूलाई क्युआर कोड वितरण गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि अधिकारी, कार्यकारी निर्देशक भुवन कँडेल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय जनकपुरका प्रमुख निर्देशक दुर्गेश गोपाल श्रेष्ठ, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नायव प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेल, डिपोजिट तथा ट्रान्जेक्सन बैकिंग प्रमुख भोलाबहादुर विष्ट, बागमती प्रदेशका प्रमुख सुरज दाहाल, कमलामाई नगरपालिका मेयर खड्ग खत्री, उवा संघ सिन्धुलीेका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, टेम्पो यातायात व्यवसायीहरू लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात् गर्न पनि नगदरहित अभियान अपरिहार्य रहेको बताए ।
सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेलले आफ्नो स्वागत मन्तव्यमा क्युआर कोड प्रविधिको प्रक्रिया तथा प्रभावकारीता बारेमा प्रस्ट्याएका थिए ।