जनयुद्ध सम्झिँदै प्रचण्डले भने– फेरि बलिदान दिन तयार छौं

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी पर्यो भने फेरि पनि बलिदान दिन तयार छौं भनेर आज संकल्प गर्ने दिन भएको बताएका छन् । २६ औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सहिदहरुलाई सम्झिने भनेको, हामी तिनीहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धी गुम्न दिने छैनौं । हामी जरुरी पर्छ भने फेरि बलिदान हुन तयार छौं भनेर संकल्प गर्ने दिन हो ।’

‘सात दशक लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा छ । हजारौं सहिदहरुले रगत बगाएर प्राप्त गरेको संविधान धरासायी पार्ने षडयन्त्र भइरहेको छ । त्यसकारण हामी सबै नेपालीहरु एकजुट भएर फेरि एकचोटी संघर्षको मैदानमा उत्रिनुपर्ने संकल्प गर्ने दिन हो आज र म त्यो अपील सबैसँग गर्न चाहन्छु,’ उनले भने ।



‘सहिद स्मृति तथा सम्मान’ कार्यक्रममा प्रचण्डले आजको दिनको विशेष अर्थ र महत्व रहेको बताउँदै भने, ‘यो सामान्य औपचारिकता हाम्रो लागि रहेको छैन । अरु बेलामा सामान्य राजनीति ठिकै ट्रयाकमा चलिरहेको बेलामा पनि हामी सहिदहरुलाई सम्मान गर्छौं, सम्झन्छौं, उहाँहरुले गरेका कामहरुको प्रेरणा लिने कोसिस त गर्छौं तर यो पटक आज हामीले उहाँहरुलाई सम्झिनुको चाहिँ विशेष अर्थ छ । यो औपचारिकता होइन । यो हाम्रो लागि जीवन मरणको प्रश्न भएको छ ।’

उनले भने, ‘ती महान सहिदहरु जसले बलिदान गरेर देशलाई यो ठाउँसम्म ल्याइपुर्याउन योगदान गरे, तिनीहरुका सपनाहरु कुल्चिने दुष्प्रयास भएको प्रयास भएको छ । हामी सहन सक्छौं त ?’

सम्बन्धित समाचार