कांग्रेस पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरूको भेला

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेपछि छलफल गरी आवश्यक रणनीति तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला बोलाउने भएको छ। फागुन ७ देखि काठमाडौंमा गर्ने भनिएको महाधिवेशन अनिश्चित बनेको छ। तर कांग्रेस सभापति शेरबहादुर देउवाले यसबारे अहिलेसम्म नेताहरूसँग परामर्श गरेका छैनन्।

पौडेलसहित उनी पक्षका नेताहरू शनिबार महामन्त्री शशांक कोइराला निवासमा भेला गरी सभापति देउवालाई दवाव दिन जिल्ला सभापतिको भेला गर्ने निर्णय गरेका छन्। पौडेलले महाधिवेशन लगायतमा छलफल गर्न केन्द्रीय कार्यसमिति बोलाउन देउवासँग माग गरे पनि केन्द्रीय समिति बैठक बस्ने टुंगो छैन।



पौडेल पक्षको भेलामा सहभागी एक केन्द्रीय सदस्यका अनुसार फागुन ५ गते जिल्ला सभापतिहरू र जिल्लाका नेताहरूसँग छलफल गर्ने तयारी छ। उक्त छलफलमा केन्द्रीय सदस्यहरू, पूर्वकेन्द्रीय सदस्यहरू र पूर्वमन्त्रीहरूलाई पनि बोलाइने ती नेताले जानकारी दिए।

सभापति देउवाले केन्द्रीय समिति नै नबोलाएर विज्ञप्ति जारी गर्दै कार्यकाल थप गर्ने सम्भावना बढेको भन्दै दवाव दिन लागिएको उनीहरूले बताएका छन्। सभापति देउवाले अब कार्यकाल थप गर्न संविधानको सहारा लिनुपर्छ। उनले अब ६ महिना कार्यकाल थप गर्न सक्छन्। देउवाको कार्यकाल फागुन १९ गते सकिँदैछ।

सम्बन्धित समाचार