नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आजदेखि चौथो चरणका संघर्षका कार्यक्रम सुरु गर्दैछ। प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा रहेको उक्त समूहले गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेपछि आजदेखि चौथो चरणको विरोधका कार्यक्रम सुरु गर्न लागेको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए।
कार्यक्रमको पहिलो दिन आज सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरुमा विरोध प्रदर्शन र सभा गरिँदैछ। जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म जारी रहने श्रेष्ठको भनाइ छ।
उक्त समूहले भोलि टुँडिखेल वरीपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम गर्ने तय गरेको छ। चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रमहरु फागुन १५ गते सकिने जनाइएको छ।
