नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ फागुन ।
बेलायतका राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन बेलायतस्थित बकिङहम दरवारको राजकीय मानपदवीबाट मुक्त भएका छन् । बेलायती महारानी एलिजावेज द्वितीयाले ह्यारी र मेगन राजकीय जिम्मेवारीबाट मुक्त हुनु भएको पुष्टि गरेकी हुन् । दरवारले जारी गरेको वक्तव्यमा दरवारको भूमिका र जिम्मेवारीमा नरहे पनि ह्यारी र मेगन सदैव दरवारको प्रिय सदस्य रहने उल्लेख छ ।
केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म पुष्टि गरिएको थिएन ।
बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ । महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गरेको अधिकारीहरूले जनाएका छन् ।
राजपरिवारको सदस्यका रूपमा उनीहरूको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ ।