थप ५० लाख डोज कोरोना खोप खरिद गर्दै सरकार

सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद गर्ने तयारी गरेको छ । प्रतिडोज साढे पाँच डलरका दरले खोप खरिद गर्न सरकारले उत्पादक कम्पनी भारतको सेरम इन्स्टिच्युट अफ इन्डियालाई प्रस्ताव पठाइसकेको छ । यसअघि सरकारले भारतबाट २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो । तीमध्ये १० लाख डोज आउन बाँकी छन् । त्यतिखेर प्रतिडोज चार डलरका दरले भुक्तानी गरिएको थियो ।

तर, अहिले भने प्रतिडोज साढे पाँच डलरमा खरिद गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाका एक अधिकारीले बताए । ‘सेरमसँग साढे पाँच डलरमा खोप खरिद गर्ने नेपालले प्रस्ताव पठाइसकेको छ,’ उनले भने, ‘सेरमले त्यसको जवाफ भने पठाइसकेको छैन । जवाफ प्राप्त हुनासाथ खरिद प्रक्रिया अगाडि बढाइनेछ ।’



स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारीले पनि ५० लाख डोज खोप खरिद गर्न लागेको बताए । तर, मूल्यका विषयमा भने जानकारी नभएको उनको भनाइ छ । सेरमले खोपको मूल्य मनलाग्दी राखेको स्वास्थ्यका अधिकारीहरूको भनाइ छ । यसअघि बंगलादेशले प्रतिडोज ६ डलरमा बुक गरेको खोप अन्तिममा साढे पाँच डलरमा खरिद गरेको थियो । युरोपका कतिपय देशले तीन डलरमा पनि सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप खरिद गरेका छन् ।

तर, नेपालले भने दोस्रोपटक झन् धेरै संख्यामा खोप खरिद गर्दा मूल्य पनि बढी तिर्ने देखिएको छ । स्वास्थ्यका अधिकारीहरूका अनुसार सरकारले सीधै कम्पनीसँग किने पनि कम्पनीबाट बिचौलियाले कमिसन लिने भएकाले खोप महँगो पर्ने देखिएको हो । ‘सकेसम्म कम मूल्यमै किन्ने प्रयास गरिरहेका छौँ । तर, पहिला किनेको चार डलरमा पाउने सम्भावना भने देखिएको छैन,’ अर्का एक अधिकारीले भने ।

यसअघि खरिद गरिएका २० लाखमध्ये आउन बाँकी १० लाख डोज केही दिनभित्रै आउने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरीले बताए । खोपको म्याद कम भएकाले चरण–चरणमा ल्याउन लागिएको उनको भनाइ छ ।

सरकारले आगामी २३ फागुनदेखि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्दै छ । यो चरणमा ५५ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप दिइनेछ । कुल ७२ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको लक्ष्य छ । अहिलेसम्म १।४ प्रतिशत नागरिकले मात्रै खोप पाएको छ । ८ माघमा भारतले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएपछि १४ माघदेखि खोप अभियान सुरु गरिएको थियो । हालसम्म चार लाख २८ हजारले खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार