पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न ११ बुँदे निर्देशन

सीमा क्षेत्रमा पेट्रोलियम पदार्थ चोरी निकासी बढेको कुरा विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित भएपछि नेपाल आयाल निगमले कढाइका साथ पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न आफ्ना सबै क्षेत्रीय र प्रादेशिक कार्यालयहरूलाई परिपत्र गरेको छ । भारतीय क्षेत्रको सीमानाकाबाट अवैध रूपमा पेट्रोलियम पदार्थको चोरी निकासी हुन थालेपछि निगमले यस्तो निर्देशन दिएको हो ।

निगमका प्रादेशिक कार्यालयहरूले दैनिक रूपमा आफ्नो मातहतमा पर्ने सीमा क्षेत्रका पेट्रोल पम्पहरू निरीक्षण गरी आवश्यक विवरणहरू जस्तै मौजुद पेट्रोलियम पदार्थको परिमाण्, बिक्रीको परिणाम् तथा दैनिक बिक्रीको बिल राख्नुपर्ने आदि व्यवस्था गरिएको निगमले जनाएको छ ।



पेट्रोल पम्पहरू पनि आफ्नो दैनिक बिक्रीवितरणको विवरण राखी अनुगमन कार्यालयहरूलाई उपलब्ध गराउनु पर्ने र सवारी साधान बाहेक, ड्रम, जर्किन, ग्यालिन तथा अन्य उपकरणहरूमा पेट्रोलियम पदार्थ बिक्रीवितरण पूर्णतः बन्देज लगाउनु पर्ने लगायतका नीतिगत निर्देशन निगमले दिएको छ ।

उपरोक्त व्यवस्था तथा निर्देशनपछिको अवस्थाका बारे नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले नवकान्तिपुर डटकमसँग कुरागर्दै भने– भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा नेपालसँग जोडिएका भारतीय सीमानाकाबाट पेट्रोलियम पदार्थ चोरी निकासी हुने सम्भावना बढी हुन्छ ।

अहिले भारतमा भन्दा नेपालमा पेट्रोलमा ३५ रुपैंया र डिजेलमा ४१ रुपैंया सस्तो छ । त्यसैले सीमा क्षेत्रका नेपालका पम्पहरूबाट विभिन्न माध्यमहरूबाट भारततिर चोरी निकासी बढेको हुन सक्छ । निगममा जानकारी हुनासाथ अवैध कारोबार रोकथामका लागि प्रादेशिक कार्यालयहरूलाई ११ बुँदै निर्देशन जारी गर्दै त्यस्तो कार्य रोक्न कडा अनुगमन गर्न भनिएको छ ।

उपाध्यायले अगाडि भने– निगमले प्रादेशिक कार्यालयहरूलाई स्थानीय प्रशासनसँग समन्वय गरी अवैध कारोबारलाई नियन्त्रण गर्न, सीमा क्षेत्रबाट ५ किलोमिटर वरिपरिका पेट्रोल पम्पको नियमित अनुगमन गर्न, नेपालबाट भारत फर्किने ट्रक आदिमा १०० लिटरभन्दा बढी पेट्रोल-डिजेल भर्न नदिने लगायतका व्यवस्था गरिएको छ । यस व्यवस्थाबाट आगामी दिनहरूमा सकारात्मक परिणाम् आउने निगमले विश्वास गरेकोे छ ।

सम्बन्धित समाचार